
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट बालबालिकामा पर्न सक्ने जोखिमबारे पर्याप्त जानकारी नदिएको भन्दै अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले मेटालाई थप ५६ करोड ७० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ।
बालबालिकाको सुरक्षासम्बन्धी मुद्दामा मेटामाथि लगाइएको यो अहिलेसम्मकै ठूलो जरिवाना भएको बीबीसीले जनाएको छ।
न्यु मेक्सिकोको अदालतले मेटाले आफ्ना सामाजिक सञ्जालबाट बालबालिकामा पर्न सक्ने जोखिमबारे सर्वसाधारणलाई सचेत नगराएको ठहर गरेको हो। न्यायाधीश ब्रायन बिडसाइडले मेटाका सामाजिक सञ्जाललाई बालबालिकाका लागि जोखिमपूर्ण वस्तुसँग समेत तुलना गरेका छन्।
यसअघि यही मुद्दामा अदालतले मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको थियो। पछिल्लो आदेशसँगै मेटाले यस मुद्दामा कुल ९४ करोड २० लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ।
अदालतले जरिवानाबाट प्राप्त रकम बालबालिकामाथि हुने हानि न्यूनीकरणका लागि स्थापना गरिने कोषमा जम्मा गर्न आदेश दिएको छ। साथै बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा थप कडा व्यवस्था लागू गर्न पनि मेटालाई निर्देशन दिएको छ।
अदालतको आदेशअनुसार न्यु मेक्सिकोमा अब कुनै पनि वयस्क प्रयोगकर्ताले १८ वर्षमुनिका बालबालिकालाई सिधै सन्देश पठाउन पाउने छैनन्। त्यस्तै, बालबालिकाका सामाजिक सञ्जाल खाता वयस्क प्रयोगकर्तालाई सिफारिस गर्न पनि प्रतिबन्ध लगाइएको छ।
१८ वर्षमुनिका प्रयोगकर्ताको खातामा ‘लाइक’ तथा अन्य प्रतिक्रियाको संख्या देखाउन नपाइने व्यवस्था गरिएको छ। बालबालिकालाई राति १० बजेदेखि बिहान ७ बजेसम्म तथा विद्यालय सञ्चालन हुने समयमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सूचना पठाउनसमेत रोक लगाइएको छ।
अदालतले फेसबुक र इन्स्टाग्राममा बालबालिकाले महिनामा बढीमा ९० घण्टा मात्र प्रयोग गर्न पाउने सीमा लागू गर्न पनि आदेश दिएको छ।
मेटाले भने अदालतको फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ। कम्पनीका प्रवक्ताले सामाजिक सञ्जाललाई सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको र किशोरकिशोरीको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिएको दाबी गरेका छन्।
बालबालिकालाई सामाजिक सञ्जालमार्फत यौनजन्य सामग्री तथा यौन शोषणको जोखिममा पारिएको आरोप लगाउँदै न्यु मेक्सिकोका सरकारी वकिलले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए।
मुद्दाको प्रारम्भिक चरणमा मेटाका अल्गोरिदमले बालबालिकालाई नियोजित रूपमा हानिकारक सामग्रीतर्फ धकेलेको र त्यसबाट न्यु मेक्सिकोको उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन भएको ठहर गरिएको थियो।
मेटाले अमेरिकाका विभिन्न राज्यमा यस्तै प्रकृतिका दर्जनौँ मुद्दा सामना गरिरहेको छ। अमेरिकाका करिब तीन दर्जन राज्यका महान्यायाधिवक्ताले बालबालिकाको गोपनीयता तथा सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा मेटाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन्।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकामा पार्न सक्ने लत, गोपनीयता र मानसिक स्वास्थ्यसम्बन्धी असरलाई लिएर विश्वभर बहस भइरहेका बेला मेटामाथिको पछिल्लो अदालतको आदेशलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित