बाढीपीडितका लागि कांग्रेसले सरकारलाई दियो एक करोड

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसका नेताहरूले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

महामन्त्री पौडेलसहित पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायत नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।

कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ताबाट संकलन गरेको रकम एकमुष्ट रूपमा सरकारलाई हस्तान्तरण गरेको हो।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सरकारलाई उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए।

रकम हस्तान्तरण गर्दै पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए।

बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए।

उनले भने, ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु।’

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा भत्किएका पूर्वाधारको पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउनसमेत उनले माग गरे।

राहत वितरणलाई पारदर्शी बनाउन तथा आगामी दिनको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापितहरूको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको पौडेलले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार