
आफ्नो दल र झण्डाको नाममा गलत प्रवृत्ति र अभ्यासलाई स्वीकार गर्नु लोकतन्त्रलाई कमजोर बनाउने कर्म हो। सचेत मतदाता विना लोकतन्त्र खोक्रो हुन्छ। आउँदो फागुन २१ गते हुने निर्वाचनमा दलका झण्डा र नाराभन्दा माथि उठेर मैदानमा देखिएका तीन हजार चार सय चौरासी (३४८४) जना उम्मेदवारहरूको चरित्र, प्रतिबद्धता, विगतका अभ्यास तथा जनताप्रतिको जवाफदेहितालाई सम्बन्धित मतदाताले गहिराइका साथ हेर्नु, केलाउनु अत्यन्त आवश्यक छ। राजनीतिलाई निजी पेसा नबनाई जीवन परिवर्तनको साधन बनाउने उम्मेदवारलाई मतदान गर्नु आजको मतदाताको प्रमुख जिम्मेवारी हो। यो लेख त्यसै विषयमा केन्द्रित छ।
निर्वाचन प्रणाली भनेको जनताले जनताको लागि मतदानमार्फत जनप्रतिनिधि छनोट गर्ने प्रतिनिधित्वको प्रक्रिया हो। यसलाई जनता आफैंले छानेका जनप्रतिनिधिबाट आफू शासित हुन स्वीकार गरिएको प्रणाली पनि भन्न सकिन्छ। यस्तो प्रणाली अपनाउँदा कसरी बढीभन्दा बढी जनसहभागिता सुनिश्चित गर्न सकिन्छ भन्ने सापेक्ष आधारमा देशअनुसार संविधानमा फरक–फरक व्यवस्था गरिएको पाइन्छ। हाम्रो देशमा बहुमतीय र समानुपातिक दुवै प्रणाली समेटिएको मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ, र यही आधारमा अहिलेको निर्वाचन हुँदैछ। यो एक लोकतान्त्रिक प्रक्रिया हो।
तर यो प्रक्रियाबाट असल नेतृत्व चयन हुन मतदातामा पर्याप्त सामाजिक जागरण आवश्यक हुन्छ। सामाजिक जागरणका लागि राजनीतिक दल, सामाजिक सञ्जाल, पत्र–पत्रिका र टेलिभिजन च्यानलहरूले मतदानको अधिकार, कर्तव्य, प्रक्रिया, सूचना तथा आचारसंहिता सम्बन्धी विषयमा व्यापक जनचेतना प्रवाह गर्न सक्छन्। नयाँ प्रविधिको भरपूर प्रयोग गर्दै समाजमा चेतना फैलाउनु भनेको मतदातालाई सबल र सक्षम बनाउनु हो। किनकि सचेत नागरिक र प्रश्न गर्न सक्ने क्षमताविना निर्वाचनको औचित्य पुष्टि हुन सक्दैन।
जब सम्म जनता सचेत, संगठित र प्रश्न गर्न सक्षम हुँदैनन्, र आफ्नो विवेक बन्धक बनाइरहन्छन्, तबसम्म जुनसुकै शक्ति सत्तामा पुगे पनि गलत प्रवृत्तिको पुनरावृत्ति भइरहन्छ। स्पष्ट शब्दमा भन्नुपर्दा, सत्ता प्रयोगमा हुने भ्रष्ट अभ्यास र जनताप्रतिको उदासीनता उस्तै रहन्छ। त्यसैले यो निर्वाचनमा व्यापक नागरिक सचेतना र विवेकपूर्ण मतदानको नितान्त आवश्यकता छ।
समाज परिवर्तन कुनै एक दल, एक नेता वा एक आन्दोलनको जिम्मा मात्र होइन। यो दीर्घकालीन प्रक्रिया हो। जनआन्दोलनपछि उदाएको नयाँ नेतृत्वलाई देख्दा सुरुमा न्याय बोल्नेछ, सत्यले जित्नेछ र देश नयाँ बाटोमा हिँड्नेछ भन्ने आशा गरिएको थियो। तर समयक्रममा यथार्थले एउटा कटु पाठ सिकायो—सत्तामा अनुहार फेरिनु मात्र समाधान होइन रहेछ, प्रवृत्ति नै रूपान्तरण हुनुपर्दो रहेछ, अर्थात् मानसिकता नै बदलिनु पर्ने रहेछ।
अब हामीले यसबाट पाठ सिक्दै यसपटकको निर्वाचनमा असल नेतृत्व छान्न सकेनौं भने पुनः पाँच वर्षसम्म राजनीतिलाई जीविकाको साधन बनाउनेहरूको भरिया बनेर बाँच्नुपर्ने दिन दोहोरिन सक्छ। त्यसैले अब हामीमा सचेत बुझाइ, विवेक र आत्मसम्मान जाग्नु अत्यावश्यक छ। विगतमा हामीले जसलाई चुनेर सिहांसनमा पुर्यायौं, आज तिनैको चरणमा शिर झुकाएर “ठूलो मान्छे” भन्दै आफूलाई गुलाम बनाउनु परेको यथार्थ हाम्रो सामु छ।
यति मात्र होइन, भ्रष्ट जनप्रतिनिधिले भ्रष्ट कार्यकर्ता उत्पादन गर्ने, इमानदार कार्यकर्तालाई नजिक पर्न नदिने र प्रताडित गर्ने प्रवृत्तिले देशलाई कंगाल बनाएको छ। फलतः लोकतान्त्रिक संघ–संस्था कमजोर हुँदै गएका छन्। यस्तो राजनीतिक जञ्जालबाट कहिले मुक्त हुने ? प्रश्न गम्भीर छ। तर नेताहरूमाथि मात्र दोष थोपर्दा आफूलाई पनि प्रश्न गर्नुपर्छ—मतदानको बेला हामी किन विवेक प्रयोग गर्न सक्दैनौं ? एकपटक विवेक नपुर्याएर पाँच वर्षसम्म किन रोइरहन्छौं ? यसको उत्तर मतदाताले आफैं दिनुपर्छ। त्यो भनेको विगतमा गलत प्रवृत्तिलाई निरन्तरता दिने मतदानको परिणाम हो।
हामीलाई आफ्ना पार्टीका झण्डामा गर्व लाग्न सक्छ, तर यदि दलको झण्डाभन्दा बढी देशको झण्डामा गर्व गरिएको हुन्थ्यो भने आज देशको अवस्था फरक हुने थियो। आजको सानो फाइदाका लागि भोलिको सपना साट्नु गम्भीर देशघाती कुकर्म हो। त्यसैले सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा अब हामी आफ्नै सोच र श्रममा उभिनु जरुरी छ।
यदि चुनावी अभियानलाई सामाजिक अभियानको रूपमा, बौद्धिक हस्तक्षेप र सचेत नागरिक समूहको वैकल्पिक अभ्यासको रूपमा अघि बढाउन सक्यौं भने असल नेतृत्व चयन गर्न सकिन्छ र समाज परिवर्तन सम्भव हुन्छ। कतिपय विकसित लोकतान्त्रिक देशमा प्रतिनिधित्वका लागि उम्मेदवार बन्नुअघि नै जनताबाट परीक्षण गरिने चलन छ, जसले उम्मेदवारको क्षमता, इमानदारी र नैतिक चरित्र मूल्यांकन गर्ने अवसर दिन्छ र प्रतिनिधि तथा मतदाता बीच विश्वास बलियो बनाउँछ। हाम्रो देशमा यस्तो व्यवस्था छैन, तर मतदाताले विगतमा छानेका प्रतिनिधिले संसदमा के कस्तो भूमिका खेले भन्ने कुराको मूल्यांकन भने आफैं गर्न सक्छन्।
संसद देशको शासन प्रणाली, ऐन, नीति र नियम निर्माण, संशोधन तथा परिमार्जन गर्ने सर्वोच्च थलो हो। तर विगतका जनप्रतिनिधिले संसदमा अपेक्षित भूमिका, दक्षता र आचरण देखाउन नसकेको थुप्रै उदाहरण छन्। जनप्रतिनिधि हुँदाका अवस्थामा भ्रष्टाचारमा संलग्न भई सजाय भोगिसकेकाहरू पुनः दलका उम्मेदवार बनेर आएको यथार्थ छ। कतिपयले संसद बैठकमा नाम मात्र हाजिरी जनाई भागेर कोरम नपुग्ने अवस्था सिर्जना गरे, जसका कारण संसद बारम्बार स्थगित भयो र संवैधानिक आयोगसहित महत्त्वपूर्ण विधेयक पारित हुन सकेनन्। यसले राज्य सञ्चालनमा दीर्घकालीन नकारात्मक असर पारेको तथ्य हामीले बिर्सनु हुँदैन।
संसद बैठकमा उपस्थित भएर पनि विधेयकमाथि सिर्जनात्मक बहस नगर्ने, अध्ययन नगर्ने, बैठक अवरुद्ध गर्ने र जनताको मतको अपमान गर्ने अधिकार उनीहरूलाई कसले दियो ? के यो दलको रणनीति वा नेतृत्वको निर्देशनअनुसार गरिएको अभ्यास हो ? यदि हो भने त्यस्ता उम्मेदवारलाई पुनः मतदान गरेर जनप्रतिनिधि बनाउनु आवश्यक छ ? भन्ने प्रश्नको उत्तर यसै निर्वाचनमा खोजिनु पर्छ।
यसकारण, अबदेखि उम्मेदवार जुन दल वा स्वतन्त्रबाट उठेको भए पनि केवल दलको चिन्ह नहेरी, व्यापक सोधखोज र मूल्यांकन गरी जनताको समस्या समाधान गर्न सक्ने क्षमता, इमानदारी र प्रतिबद्धता भएका उम्मेदवारलाई मात्र मतदान गर्नु आजको अपरिहार्य आवश्यकता हो। यदि यसपटक पनि मतदाताले चुक्यौं भने त्यसको सजाय विगतभन्दा झन् कठोर रूपमा हामी र हाम्रा सन्ततिले भोग्नुपर्नेछ, र हामी अन्धकारको सुरुङतर्फ धकेलिनेछौं।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित