बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर (झापा)। बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी ।

बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउनमात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन् । “शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ । स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्”, अधिकारीले भन्नुभयो ।

अधिकारीका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन् । यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनलाई समेत जोड्ने सम्भावना देखिएको छ ।

पोखरी संरक्षण समिति ‘विराट सरोवर विकास समिति’का अध्यक्ष इन्द्र प्रसाईँका अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारले मानिसलाई हरियाली र शान्त वातावरणको आवश्यकता झन् बढाएको छ । उहाँले भन्नुभयो, “सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा उक्त क्षेत्र स्थापित हुँदै गएको छ । यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन् ।”

उहाँका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी (बोटिङ) सञ्चालन भइरहेका छन् । “यसको प्रचारप्रसार र संरक्षण गर्नु सबैको साझा दायित्व छ”, उहाँले जोड दिनुभयो ।

विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थलमात्र होइन, पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए । यही क्षेत्रमा पाण्डवले अज्ञातबास बिताएको मान्यता पनि रहँदै आएको छ ।

पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरका कारण धार्मिक महत्व पनि उत्तिकै बलियो छ । प्रत्येक वर्ष बालाचतुर्दशीमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।

विसं २०५१ देखि विराट सरोवर विकास समितिले संरक्षणको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउनुहुन्छ । उहाँका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र प्रवर्द्धनका लागि समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार