गीतको शीर्षक र विवादित शब्द हटाउने सहमति, खेम सेन्चुरी र अभियन्ताबीच मिल्यो कुरा

काठमाडौं । गायक खेम सेन्चुरी र हिन्दूवादी अभियन्ताहरूबीच सहमति जुटेको छ। आफ्नो गीतमा रहेको विवादित विषयवस्तु हटाउन सेन्चुरी सहमत भएका छन्।

सेन्चुरीको रचना, संगीत र स्वर रहेको ‘बाहुनबाजे’ बोलको गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो। हिन्दूवादी अभियन्ताहरूले उजुरी दिएपछि ब्यूरोले बुधबार दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो। उक्त छलफल निष्कर्षविहीन भएपछि बिहीबार पुनः छलफल गरिएको थियो। दोस्रो दिनको छलफलमा भने दुवै पक्षबीच सहमति जुटेको हो।

सहमति पत्रमा सेन्चुरीले गीत सम्पादन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। सहमतिअनुसार गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाइनेछ।

यस्तै, पूजा गर्ने क्रममा ब्राह्मणले खाएको भागलाई दृश्यमा अस्पष्ट बनाउने र गीतको शीर्षक ‘बाहुनबाजे’ परिवर्तन गर्ने सहमति भएको छ।

के हो विवाद ?

गोधुली क्रियसन प्रालिले उत्पादन गरेको ‘बाहुन बाजे किन कासेको…’ बोलको गीत करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको थियो। गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरले स्वर दिएका छन् भने रचना तथा संगीत सेन्चुरीकै रहेको छ।

गीत र त्यसको भिडियोले बाहुन समुदायलाई होच्याएको भन्दै हिन्दूवादी अभियन्ताहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उजुरीमा गीतले सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजेको आरोप लगाइएको थियो।

गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पङ्क्तिप्रति अभियन्ताहरूको मुख्य आपत्ति थियो।

साइबर ब्यूरोले दुवै पक्षलाई दुई दिन बोलाएर गरेको छलफलपछि विवादित विषयवस्तु हटाउनेसहित विभिन्न विषयमा सहमति जुटेको हो।

प्रतिक्रिया

ताजा समाचार