कोशीमा बर्डफ्लु संकट: २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गरिँदै

विराटनगर। कोशी प्रदेशमा बर्डफ्लु संक्रमण भयावह बन्दै गएको छ । प्रदेशकै सबैभन्दा ठूलो सुनसरीस्थित पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ ।

यससँगै सुनसरी र मोरङका दुई ठूला फार्ममा गरी २ लाख २७ हजारभन्दा बढी कुखुरा मार्ने प्रक्रिया सुरु गरिएको छ । एउटै फार्ममा यति ठूलो संख्यामा कुखुरा नष्ट गर्न लागिएको यो घटना कोशी प्रदेशकै इतिहासमा पहिलोपटक भएको हो ।

सुनसरीको रामधुनी नगरपालिका र मोरङको बूढीगंगा क्षेत्रमा रहेका फार्महरूमा पछिल्लो पटक संक्रमण पुष्टि भएको हो । सरकारी टोलीले आजदेखि नै कुखुरा नष्ट गर्ने (कुलिङ) कार्य सुरु गर्ने जनाएको छ ।

रामधुनीस्थित ‘सुनसरी पोल्ट्री फार्म’ मा १ लाख ५५ हजार र बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा ७२ हजार कुखुरा नष्ट गर्न सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ । पशु सेवा विभागले दुई दिनअघि यी फार्ममा बर्डफ्लु संक्रमण पुष्टि गरेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार करिब ७ हजार कुखुरा संक्रमणका कारण आफैं मरिसकेका छन् । बाँकी कुखुरालाई संक्रमण फैलिन नदिन नष्ट गर्नुपर्ने अवस्था आएको हो ।

कुखुरा नष्ट गर्न र सुरक्षित रूपमा पुर्नका लागि ११० जना कामदार परिचालन गरिएको छ, जसमा ८० जना फार्मका कामदार र ३० जना बाहिरबाट थपिएका छन् । यो कार्य प्राविधिक र कामदार दुवैका लागि चुनौतीपूर्ण बनेको जनाइएको छ ।

भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा. अजयकुमार शाहका अनुसार बूढीगंगामा रहेका ७२ हजार कुखुरा पनि आजै नष्ट गरिनेछ । संक्रमित कुखुरालाई कुनै रसायन प्रयोग नगरी टाउकोमा हिर्काएर मार्नुपर्ने र त्यसपछि गहिरो खाल्डो खनेर चुन र ब्लिचिङ पाउडर प्रयोग गरी पुर्नुपर्ने भएकाले प्रक्रिया जटिल र समय लाग्ने भएको छ ।

यसअघि नै सुनसरीका १६–१७ प्रभावित क्षेत्रमा २ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । आज थपिने संख्यासँगै कुल नष्ट गरिएका कुखुराको संख्या अझ बढ्नेछ ।

यस घटनाले कोशी प्रदेशको पोल्ट्री क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ । साना किसानदेखि ठूला व्यवसायीसम्म प्रभावित भएका छन् । बैंक ऋण लिएर व्यवसाय गरेका किसानहरू आफ्नो लगानी नष्ट भएको देखेर चिन्तित छन् ।

सरकारले बर्डफ्लुबाट क्षति भएका किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरे पनि प्रक्रियागत ढिलाइ र बजेट अभावका कारण किसानहरूमा अन्योल र त्रास बढेको छ । हाल प्रभावित क्षेत्र सिल गरिएको छ भने कुखुरा, मासु, अण्डा तथा दाना ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार