यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन अष्टमीका कर्म गर्नुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने जनाएको छ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि अष्टमीका दिन गरिने कर्म भने सोहीअनुसार गर्नुपर्ने उनले बताए। उक्त दिन दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्नेछ। महाअष्टमीका अन्य कर्मसमेत दोहोर्‍याउनुपर्ने भट्टराईले जानकारी दिए।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस दिनको भएको छ। विजयादशमीका दिन टीका लगाउँदा दस रातका जमरा लगाइनेछन्। देवीको साधना तथा पूजा–आराधना एक दिन बढी गर्दा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।

हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले यसबारे जानकारी दिएकी हुन्।

हनुमानढोकामा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा–आराधनालगायतका कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उनले बताइन्।

हनुमानढोका दरबारको दशैँघरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।

महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुको बलिसहित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

प्रतिक्रिया

ताजा समाचार