
कपिलवस्तु । कपिलवस्तुमा मन्दिरबाट घण्टी चोरी गरी भाँडा पसलमा बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले पसलबाट साना–ठूला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको छ।
शुद्धोधन गाउँपालिका–२, नौडिहवास्थित दुर्गा मन्दिरबाट असोज २६ गते राति तीन वटा घण्टी चोरी भएका थिए। घटनाबारे असोज २७ गते प्रहरी चौकी लवनीमा जानकारी आएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक राजीव श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–१, बगदीका १८ वर्षीय इबरार अहमद मुसलमान (खान)लाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकडी पठाएको थियो।
अनुसन्धानका क्रममा शुद्धोधन गाउँपालिका–२, भुसुडीका २५ वर्षीय चन्द्रप्रसाद यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
इबरारसँग सोधपुछ गर्दा चोरी गरिएका घण्टी शुद्धोधन गाउँपालिका–३, लवनीस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले उक्त पसलबाट ३५ थान पित्तलका घण्टी बरामद गरेको हो।
पसल सञ्चालक दिनेशकुमार कान्दुलाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोप लागेका अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित