घरबाटै एनओसी: अब अनलाइनमै आवेदन र डाउनलोड सुविधा उपलब्ध

काठमाडौं । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्ने प्रक्रिया अब अझ सहज बनेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा डिजिटल बनाउँदै ‘फेसलेस’ प्रणाली लागू गरेको छ।

यसका लागि एनओसी अनलाइन पोर्टललाई Tribhuvan University (त्रिवि) र Kathmandu University (केयू) सँग एपीआईमार्फत अन्तरआवद्ध गरिएको छ। त्रिविसँग वैशाख ४ गते औपचारिक सम्झौता भएको छ भने केयूसँग यसअघि नै सहकार्य सुरु भइसकेको थियो।

अब विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन्। आवश्यक प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ। सर्टिफिकेटमा क्यूआर कोड पनि समावेश गरिने भएकाले यसको प्रमाणिकता सजिलै जाँच गर्न सकिन्छ।

यसअघि स्नातकोत्तर वा सोभन्दा माथिल्लो अध्ययनका लागि आवेदन दिनेहरूले विश्वविद्यालयका प्रमाणपत्र रुजु गराउन भौतिक रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो। तर त्रिवि र केयूसँगको नयाँ अन्तरआवद्धतापछि आवेदकले दिएको रजिस्ट्रेसन नम्बर र जन्ममिति विवरणका आधारमा प्रणालीमै प्रमाणपत्र प्रमाणित हुने भएकाले अब कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।

त्यस्तै, गृह मन्त्रालय अन्तर्गतको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) सँगको डिजिटल समन्वयले नागरिकता र शैक्षिक विवरण प्रमाणीकरण प्रक्रिया पनि सहज बनाएको छ।

एनओसी शुल्कसम्बन्धी भुक्तानी पनि अब पूर्ण रूपमा अनलाइन गरिएको छ, जुन महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) मार्फत सञ्चालन भइरहेको छ।

यस नयाँ प्रणालीसँगै वैदेशिक अध्ययनका लागि आवश्यक एनओसी लिन विद्यार्थीलाई लाइन बस्नुपर्ने, कागजी प्रक्रिया झेल्नुपर्ने र कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिलेको छ।

प्रतिक्रिया

ताजा समाचार