
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा आज साँझ नै सार्वजनिक गर्ने तयारी छ।
‘सम्भवतः आज साँझ नतिजा सार्वजनिक हुन्छ। अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ।’
बैठकमा सहभागी हुन बोर्डले सदस्यहरूलाई जानकारी गराइसकेको छ। परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताए। ‘हामी अहिले छलफलमै छौं,’ उनले भने।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिट्टै सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।
यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित