
काठमाडौँ । भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयका उत्कृष्ट पाँच शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मान गरेको छ।
नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयका शिक्षकहरूमध्ये छनोट गरिएका पाँच जनालाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
पुरस्कृत हुने शिक्षकमा नेपाली विषयकी अन्जना महर्जन र अंग्रेजी विषयकी शर्मिला प्रधान (मंगल माध्यमिक विद्यालय, कीर्तिपुर), गणित विषयका राजकुमार कडेल (नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुर), सामाजिक अध्ययनका प्रकाश आचार्य तथा विज्ञान विषयका मुकुन्दप्रसाद काफ्ले (श्रम राष्ट्रिय माध्यमिक विद्यालय, टुसाल) रहेका छन्।
फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्रा.डा. विश्वनाथ प्रसाद (भी.पी.) अग्रवालको शिक्षा प्रतिको योगदानलाई स्मरण गर्दै उत्कृष्ट शिक्षकलाई सम्मान गरेर गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए। उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
पुरस्कार छनोट समितिका संयोजक तथा नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारीका अनुसार सार्वजनिक आवेदनमार्फत प्राप्त निवेदनलाई पूर्वनिर्धारित मापदण्डका आधारमा मूल्याङ्कन गरी शिक्षक छनोट गरिएको हो। नतिजाको प्रमाणीकरण शिक्षा विभागसँग गरिएको र छनोट प्रक्रियालाई निष्पक्ष बनाइएको उनले बताए।
पुरस्कृत शिक्षकहरूको तर्फबाट बोल्दै अन्जना महर्जनले यो सम्मानले आफ्नो जिम्मेवारी अझ बढाएको बताइन्। गणित शिक्षक राजकुमार कडेलले सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरेर सम्पूर्ण शिक्षा क्षेत्रको मनोबल बढाउने काम भएको प्रतिक्रिया दिए।
फाउन्डेसनले विद्यालय तहका शिक्षकलाई राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गराई उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार कार्यक्रम सञ्चालन गरेको जनाएको छ। छनोटका लागि सम्बन्धित विषयमा उच्च उत्तीर्ण दर, न्यूनतम सेवा अवधि, अनुशासन तथा कार्यसम्पादनलगायतका मापदण्ड तय गरिएको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित