
काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्। महाभारतको युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट तथा शून्यतालाई केन्द्रमा राखिएको नाटकले पुरानो कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकटलाई प्रस्तुत गरेको छ।

निर्देशक खतिवडाका अनुसार नाटकले युद्ध सकिएपछि पनि समाप्त नहुने हिंसा र त्यसले समाज तथा व्यक्तिको जीवनमा पार्ने प्रभावलाई उजागर गर्छ। युद्धका विजेता र पराजित दुवै पक्षले भोग्नुपर्ने पीडा, प्रतिशोध, सत्ताको मोह, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीलाई नाटकले विभिन्न पात्र र घटनामार्फत प्रस्तुत गरेको छ।

खतिवडाका लागि यो नाटक व्यक्तिगत रूपमा पनि विशेष छ। करिब ११ वर्षअघि यही नाटकबाट उनले अभिनय यात्रा सुरु गरेका थिए। त्यतिबेला कलाकारका रूपमा मञ्चमा उभिएका खतिवडा अहिले भने सोही नाटकलाई निर्देशकका रूपमा दर्शकमाझ ल्याएका हुन्।
पुरानो नाटकलाई अहिलेको समय र दर्शकसँग जोड्दै नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक खतिवडाले बताए।

मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अविशेक खतिवडा, सम्पदा लकान्द्रि र सुजल कोइरालाले अभिनय गरेका छन्।

नाटकको संगीत सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामाले दिएका छन्। ‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मञ्चन हुनेछ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित