
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।
बराल केयूबाटै अध्ययन पूरा गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् । उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।
उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा छ । उपप्राध्यापक र सहप्राध्यापक हुँदै उनी प्राध्यापक बनेका हुन् ।
बरालले केयूमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् ।
केयूको उपकुलपतिका लागि ३५ जनाले आवेदन दिएका थिए । तीमध्ये १० जनाको सूची सार्वजनिक गरी प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिइएको थियो । मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित