
काठमाडौँ । नेपालमा आधुनिक उच्च शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएका काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६:५० बजे शर्माको निधन भएको विश्वविद्यालयका उपकुलपति विवेक बरालले जानकारी दिए।
उनको पार्थिव शरीरलाई बिहीबार बालकुमारीस्थित ‘स्कुल अफ म्यानेजमेन्ट’मा श्रद्धाञ्जलीका लागि राखिने र सोही दिन अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।
वि.सं. १९९७ साउनमा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माको प्रारम्भिक शिक्षा घरमै संस्कृतबाट सुरु भएको थियो। वि.सं. २००८ मा सिन्धुलीगढीमा स्थापित विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले जनकपुरधाम र काठमाडौँ हुँदै भारतको कर्णाटक विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरेका थिए।
वि.सं. २०२३ सालदेखि कीर्तिपुरमा पार्टटाइम अध्यापन सुरु गरेका शर्माले त्रिचन्द्र क्याम्पसमा सात वर्ष अध्यापन गरे। त्यसपछि छात्रवृत्तिमा बेलायत गएर रसायनशास्त्रमा पीएचडी गरेका उनी स्वदेश फर्किएलगत्तै तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव नियुक्त भएका थिए।
तीन वर्षका लागि सदस्य–सचिवको जिम्मेवारी पाएका उनी विशेष आग्रहपछि साढे १० वर्षसम्म उक्त समितिमा रहे। सो अवधिमा नेपालको शिक्षा प्रणालीको विकास तथा प्राविधिक शिक्षाको विस्तारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
नेपालमा प्राविधिक शिक्षाको जग बसाल्न शर्माको योगदान महत्वपूर्ण मानिन्छ। तत्कालीन राजा वीरेन्द्रको आग्रहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी संस्थापक निर्देशक बने। उनकै नेतृत्वमा कर्णालीको जुम्ला, दोलखाको जिरी तथा धनकुटालगायत दुर्गम क्षेत्रमा प्राविधिक शिक्षाको विस्तार गरिएको थियो।
शर्माले बुढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत सेवा गरेका थिए।
नेपालमा गुणस्तरीय उच्च शिक्षामा निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित वि.सं. २०४८ मा शर्माकै नेतृत्वमा काठमाडौँ विश्वविद्यालय स्थापना भएको थियो। धुलिखेललाई मुख्य केन्द्र बनाएर वि.सं. २०५० देखि पठनपाठन सुरु गरेको केयूले उनकै नेतृत्वमा नेपालमै पहिलोपटक इन्जिनियरिङ, कम्प्युटर, फार्मेसी तथा वातावरण विज्ञानजस्ता विषयमा पठनपाठन सुरु गरेको थियो।
शर्माले केयूको उपकुलपतिका रूपमा लगातार छ कार्यकाल, कुल २१ वर्ष, नेतृत्व गरेका थिए। उनको नेतृत्वमा विश्वविद्यालयले देशभित्र उच्च शिक्षाको विस्तारसँगै अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो पहिचान स्थापित गरेको थियो।
आफू जन्मिएको सिन्धुलीमा समेत शर्माले प्राविधिक शिक्षालय स्थापना गरेका थिए।
पारिवारिक जीवनमा श्रीमती र एक छोरीलाई यसअघि नै गुमाइसकेका शर्माका तीन छोरी छन्।
शिक्षाप्रतिको निष्ठा, कठोर परिश्रम र समर्पणमार्फत नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका शर्माको निधनले राष्ट्रिय शिक्षा क्षेत्रले एक अनुभवी शिक्षाविद् तथा मार्गदर्शक गुमाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित