
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी मन्दिर आज महानवमीका अवसरमा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्रै सर्वसाधारण भक्तजनका लागि खुला गरिने यस मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।
हनुमानढोका दरबार हेरचाह अड्डाले सम्बन्धित निकायसँग गरेको छलफलपछि बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिर खुला गर्ने निर्णय गरेको अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तलेजु भवानीलाई हनुमानढका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजेको साइतमा देवीलाई स्थिरासन गराइएको थियो।
मूलचोकमै विराजमान तलेजु भवानीको महाअष्टमीको राति कालरात्रि पूजा गरिँदैछ। उक्त पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने हेरचाह अड्डाले जनाएको छ।
विजयादशमीसम्म मूलचोकमै राखेर तलेजु भवानीको पूजाआराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन समितिले तोकेको साइतअनुसार बिहान १०ः५१ बजे देवीको यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित