
काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै संवैधानिक सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सबैमा आग्रह गरेको छ ।
अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । साथै, छानबिनबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि अदालतले अनुरोध गरेको छ ।
पूर्ण बैठकले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न अदालत प्रतिबद्ध रहेको जनाएको छ ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित