अन्तिम बलमा रसेलको कमाल, २ रनको रोमाञ्चक जितसँगै विराटनगर शीर्षस्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित दर्ता गरेको छ। भर्खरै सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो।

विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।

विराटनगरको जितमा आन्द्रे रसेल नायक बने। ब्याटिङतर्फ अर्धशतक प्रहार गरेका रसेलले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। अन्तिम बलमा विकेट लिँदै उनले विराटनगरको जित सुनिश्चित गरे।

जनकपुरका सैफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रनको योगदान दिए।

रसेलले ४ विकेट लिँदा एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका तीनै ब्याटरले अर्धशतक प्रहार गरे। लोकेश बमले ५०, इमरान शेखले ५६ तथा आन्द्रे रसेलले अविजित ५२ रन बनाए।

बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।

यस जितसँगै विराटनगर ४ खेलबाट २ जित र २ हारसहित ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको जनकपुर भने रनरेटका आधारमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

ताजा समाचार