अन्तिम समयको गोलले लिभरपुलको नाटकीय जित

लण्डन । प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले नटिङ्घम फरेस्टमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ। सिटी ग्राउण्डमा भएको खेलको ९७ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गर्दै टोलीलाई स्पष्ट तीन अङ्क दिलाए।

खेलभरि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। खेलको बीचमा म्याक एलिस्टरले बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले त्यसलाई ह्यान्डबल घोषित गरिदिएपछि गोलले मान्यता पाएको थिएन।

खेलको अन्तिम समयमा भर्जिल भान डाइकको प्रहारलाई फरेस्टका गोलकिपरले रोक्ने प्रयास गरे पनि रिवाउन्डमा आएको बललाई म्याक एलिस्टरले सदुपयोग गर्दै जित सुनिश्चित गरे।वार्म–अपका क्रममा लिभरपुलका मुख्य खेलाडी घाइते हुनु टोलीका लागि चिन्ताको विषय बनेको थियो।

पहिलो हाफमा घरेलु टोली फरेस्टले लिभरपुलमाथि निकै दबाब सिर्जना गरेको थियो। लिभरपुलका गोलकिपर एलिसन बेकरले केही उत्कृष्ट बचाउ नगरेको भए नतिजा फरेस्टको पक्षमा जान सक्ने देखिन्थ्यो। प्रशिक्षक आर्ने स्लटको टोलीले पहिलो ४५ मिनेटमा सुस्त प्रदर्शन गरे तापनि दोस्रो हाफमा सुधारिएको खेल देखाएको थियो।


यस जितसँगै ४५ अङ्क जोडेको लिभरपुलले शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धालाई कायमै राखेको छ। हाल लिभरपुल तालिकाको माथिल्लो स्थानमा रहँदै चेल्सी र म्यानचेस्टर युनाइटेड जस्ता टोलीहरूसँग अङ्क बराबरी गर्न सफल भएको छ। यता पराजित फरेस्ट रेलिगेसन क्षेत्रभन्दा दुई अङ्क माथि १७ औँ स्थानमा यथावत छ।

प्रतिक्रिया

ताजा समाचार