वर्षाले नेपाल–श्रीलंका खेलमा अन्योल, नतिजा नआए नेपाल बाहिरिने

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत क्रिकेटमा वर्षा बाधक बनेको छ । क्वार्टरफाइनलका दुई खेल वर्षाका कारण रद्द भएपछि भारत र पाकिस्तान खेल नै नखेली सेमिफाइनलमा पुगेका छन् ।

भारतले अफगानिस्तान र पाकिस्तानले हङकङसँग खेल्ने तय भए पनि लगातार वर्षाका कारण एक बल पनि फ्याँक्न सकिएन । आईसीसी वरियताका आधारमा दुवै टोली सेमिफाइनल पुगेका हुन् ।

अब नेपालले मंगलबार श्रीलंकासँग क्वार्टरफाइनल खेल्दैछ । निस्सिनमा मंगलबार वर्षाको सम्भावना ८० देखि १०० प्रतिशतसम्म रहेको पूर्वानुमान छ । बिहान ९ बजेका लागि तय खेलको सुरुवाती समयमा वर्षाको सम्भावना उच्च रहे पनि बिहान १० देखि दिउँसो १२ बजेसम्म केही सुधार आउन सक्ने अनुमान छ ।

खेल हुन नसके वरियताका आधारमा श्रीलंका सेमिफाइनल पुग्नेछ भने नेपालको पदक यात्रा समाप्त हुनेछ । नतिजाका लागि कम्तीमा ५–५ ओभरको खेल आवश्यक पर्ने भएकाले नेपाली समर्थकहरू खेल पूरा हुने आशामा छन् ।

नेपाल समूह चरणमा अफगानिस्तान र आयोजक जापानलाई हराउँदै समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको हो ।

प्रतिक्रिया

ताजा समाचार