
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो। अफगानिस्तानले भने दोस्रो खेल खेलेको हो। उसले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।
पुरुष क्रिकेटमा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित