वेस्ट इन्डिजको सानदार जितपछि साविक विजेता भारत दबाबमा

काठमाडौं । टी–२० विश्वकपको सुपर–८ चरणमा सोमबार वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गर्यो।

यस जितसँगै समूहको समीकरण फेरिएको छ र आयोजक भारतको सेमिफाइनल यात्रा थप जटिल बनेको छ।

साविक विजेता भारत आफ्नो पहिलो सुपर–८ खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो। समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने भएकाले भारतको नकआउट चरण थप जटिल बनेको हो।

यस्तो छ भारतको सेमिफाइनल समीकरणः

भारतले आगामी दुबै खेल जितेमा
यदि भारतले वेस्ट इन्डिज र जिम्बाब्वेलाई पराजित गर्‍यो भने उसले ४ अंक हुनेछ।

यदि दक्षिण अफ्रिकाले बाँकी दुवै खेल जितेमा भारत र दक्षिण अफ्रिका दुवै सेमिफाइनलमा पुग्नेछन्।

यदि दक्षिण अफ्रिकाले एक खेल हार्‍यो भने तीन टोली ४–४ अंकमा बराबरी हुन सक्छन्। यस्तो अवस्थामा सेमिफाइनल यात्रा नेट रनरेटका आधारमा तय हुनेछ।

यदि दक्षिण अफ्रिकाले दुवै खेल गुमायो भने भारत र वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गर्नेछन्।

यदि भारतले एक मात्र खेल जितेमा

अन्य परिणाम जस्तोसुकै भए पनि केवल एक जितले भारतको सेमिफाइनल सम्भावना झिनो बन्नेछ।

आगामी खेल तालिका

भारतले आफ्नो अर्को खेल २६ फेब्रुअरीमा जिम्बाब्वेविरुद्ध खेल्नेछ। अन्तिम खेल १ मार्चमा वेस्ट इन्डिजसँग हुनेछ। वेस्ट इन्डिज हाल उत्कृष्ट लयमा छ र उसले अहिलेसम्म खेलेका सबै ५ खेल जितेको छ। उसका ब्याटर र बलर दुवै प्रभावशाली प्रदर्शनमा छन्।

दक्षिण अफ्रिकाले भारतलाई हराउँदै मजबुत सुरुआत गरिसकेको छ। अब उसले वेस्ट इन्डिज र जिम्बाब्वेसँग खेल्न बाँकी छ। यदि उसले बाँकी दुवै खेल जितेमा सेमिफाइनल स्थान लगभग निश्चित हुनेछ।

सुपर–८ को अवस्था

सुपर–८ चरणमा ४–४ टोलीलाई दुई समूहमा बाँडिएको छ। प्रत्येक टोलीले आफ्नो समूहमा रहेका अन्य तीन टोलीसँग खेल्नेछन्। यसरी एक समूहमा ६ खेल र दुवै समूह मिलाएर कुल १२ खेल हुनेछन्।

हालसम्म ४ खेल सम्पन्न भइसकेका छन्। दुई समूहका शीर्ष दुईले टोली सेमिफाइनल खेल्नेछन्।

पहिलो सेमिफाइनल ४ मार्चमा कोलकाता या कोलम्बोमा हुनेछ भने दोस्रो सेमिफाइनल ५ मार्चमा मुम्बईमा खेलिनेछ।

यी खेलका विजेता टोलीहरू ८ मार्चमा उपाधिका लागि भिड्नेछन्। फाइनल खेल अहमदाबाद या कोलम्बोमा हुनेछ। पाकिस्तान भारत खेल्न नआउने भएकाले फाइनल भेन्युको टुंगो नलागेको हो।

सुपर–८ को समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन्। यी चारै टोली समूह चरणमा एक खेल पनि नहारी आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै सुपर–८ मा प्रवेश गरेका थिए।

त्यसैगरी समूह–२ मा इङ्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलङ्का छन्।

प्रतिक्रिया

ताजा समाचार