भोलिदेखि आधा मात्र ग्यास बिक्री गरिने

काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ।

विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यका मा ग्यासको माग अत्यधिक बढेको र मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्तिमा अवरोध सिर्जना हुन थालेपछि निगमले यो कदम चालेको हो।

निगमका अनुसार छिमेकी राष्ट्र भारत मा समेत ग्यास वितरणमा समस्या आएको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्ताहरूमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर सञ्चय गर्ने प्रवृत्ति बढ्दै गएको छ।

बढ्दो मागलाई सम्बोधन गर्न निगमले फागुन २९ गतेदेखि लागू हुने गरी एउटा सिलिन्डरमा ७.१ केजी मात्र ग्यास भरेर आधा मात्र बिक्री गर्ने भएको हो। यसको मूल्य ९५५ रुपैयाँ तोकिएको छ।

निगमले आम उपभोक्तालाई बजारमा ग्यासको अभाव हुन नदिने र सबैको भान्सामा इन्धन पुर्‍याउने उद्देश्यले यो नीति ल्याइएको जनाएको छ। हालको असहज परिस्थितिलाई ध्यानमा राख्दै कम परिमाणमा धेरै उपभोक्तालाई ग्यास उपलब्ध गराउनु नै अहिलेको प्राथमिकता रहेको निगमले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार