एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदहरूको नाम आइतबार मात्र पठाउने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका शीर्ष नेताहरू पशुपति आर्यघाट पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र हालसम्म कसैले बुझेका छैनन्।

एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा रहेका बेला पत्र आएको भए पनि आज र भोलि यसबारे कुनै निर्णय नहुने, तर आइतबारसम्म नाम पठाउन सकिने अवस्था रहेको छ।

उनले भने, “नाम पठाउनुअघि नेताहरूले कुनै तहको बैठक वा छलफल गर्नुहोला। त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यही अनुसार काम गर्छौँ।”

निर्वाचन आयोगले राजनीतिक दलहरूबाट प्राप्त समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारहरूको नाम अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्नेछ। राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथ ग्रहणको तयारी सुरु हुनेछ।

एमाले नेता आचार्यले भने, “हामी निर्वाचन आयोगले दिएको तालिकाभित्रै रहेर काम सम्पन्न गर्नेछौँ।”

प्रतिक्रिया

ताजा समाचार