ओलीप्रति बालेन शाहको समवेदना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गरेका छन्।

ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना व्यक्त गर्दै बालेनले पिताजस्तो रक्षक र पिताजस्तो गुरु कोही नभएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥ पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। ‘पात्र एक, भूमिका अनेक।’”

उनले आफूले पनि केही समयअघि मात्र पिता गुमाएको उल्लेख गर्दै पिताको अनुपस्थितिले जीवनमा कति रित्तोपन र अपूरणीय अभाव ल्याउँछ भन्ने महसुस आफूलाई भएको बताएका छन्।

“पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्,” उनले भने।

ओलीका पिता मोहनप्रसाद ओलीको गएराति निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार