
काठमाडौं । सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले संघर्षको राजनीति भने निरन्तर जारी रहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, तर संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु।”
उनले थप स्पष्ट पारेका छन्, “म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको अर्थ राजनीतिबाट गायब हुने होइन।”
उनका अनुसार उनी आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको सेवामा सक्रिय रहनेछन्।
जनमत पार्टीका अध्यक्ष राउतको नेतृत्वमा उक्त पार्टी २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट उदाएको थियो। त्यसबेला पार्टी राष्ट्रिय दल बन्न सफल भएको थियो। प्रत्यक्षतर्फ राउत आफैंले चुनाव जितेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर थप पाँच सांसद सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा जनमत पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी २बाट चुनाव लडेका राउत रामजी यादवसँग पराजित भएका थिए। अन्य प्रत्यक्ष उम्मेदवारले पनि जित निकाल्न सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले थ्रेसहोल्ड पार गर्न सकेन।
राउतले अब आफू संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयारी गराउने बताएका छन्। “जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयार गराउन प्रतिबद्ध छु,” उनले लेखेका छन्।
उनले आफू सदैव जनताको बीचमै रहने, विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रहने तथा अधिकार र पहिचानको लडाइँमा निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित