कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचन क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन्।

निर्वाचन परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीभित्रका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए। यद्यपि उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेका हुन्।

थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए। उनले दिएको राजीनामाबारे निर्णय गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।

प्रतिक्रिया

ताजा समाचार