
काठमाडौं। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरी वृत्तचित्र बनाउने नाममा १२ लाख ७७ हजार २५० रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) प्रतिवादी रहेका छन्।
हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ। यस प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली उल्लंघन भएको पनि उल्लेख गरिएको छ।
अख्तियारले प्रतिवादीहरूबाट उक्त रकम बराबरको बिगो असुलसहित थप सजायको माग गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित