हिन्दु–मुस्लिम विवादपछि कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा जारी

रूपन्देही । कपिलवस्तुको महाराजगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगञ्ज क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाअन्तर्गत पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। उक्त जानकारी निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

महाराजगञ्जको वडा नं. २ र ३ को सीमाक्षेत्रमा मुस्लिम समुदायले ईद तथा हिन्दु समुदायले नवरात्र मनाउने क्रममा विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदायले नमाज पढिरहेका बेला हिन्दु समुदायले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाउँदा तनाव बढेको थियो। पछि भजनको आवाज घटाउने विषयमा दुई पक्षबीच झडप भएको हो।

झडपमा प्रहरी, हिन्दु तथा मुस्लिम समुदायका तर्फबाट एक बालकसहित ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।

प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ भने स्थिति नियन्त्रणमा लिन क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार