
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैत १२ गतेका लागि तय गरिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा एन्फाले उक्त खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मतसम्भारदेखि लिएर आवश्यक स्वीकृतिसमेत प्राप्त नभएको जनाएको छ । एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सम्बन्धित अधिकारीहरूसँग बारम्बार ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको उल्लेख गरिएको छ ।
एन्फाका अनुसार आइतबार कर्मचारीहरू राखेप कार्यालयमा उपस्थित हुँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान गरिएको थिएन । खेल स्थगनको सूचना जारी भइसकेपछि राखेपले स्वीकृति दिइसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति एन्फाले आश्चर्य व्यक्त गरेको छ ।
साथै, चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै एन्फाले राखेपको नियतमाथि प्रश्न उठाएको छ ।
एन्फाले राखेपजस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासनलाई चुस्तदुरुस्त बनाउँदै यस्तो त्रुटिपूर्ण कार्यमा संलग्न कर्मचारीमाथि आवश्यक कारबाही गर्न आग्रह समेत गरेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित