
वीरगञ्ज । वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको गम्भीर आरोपमा पक्राउ परेका छन्।
प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए।
पीडित छात्राले दिएको उजुरीमा, प्रस्ताव स्वीकार गरेमा परीक्षामा सुविधा मिलाइदिने प्रलोभन देखाउने र अस्वीकार गरेमा अंक घटाउने तथा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेको उल्लेख छ। साथै, उनले फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देशहरू पठाउने र शैक्षिक भविष्य नै समाप्त पारिदिने चेतावनी दिने गरेको आरोप छ।
पीडितले गत चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराउनुभएकाे थियाे। उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।
प्रहरीले आरोपितमाथि कानुनी प्रक्रिया सुरु गरिसकेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
घटनाले शैक्षिक संस्थाभित्रै विद्यार्थीको सुरक्षा र गरिमामाथि गम्भीर प्रश्न उठाएको छ। पक्राउ परेका गद्दी लालबाबु राउतका नातेदार भएको तथ्य सार्वजनिक भएपछि यस विषयले थप चर्चा पाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित