
काठमाडौँ। सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ।
इनिशाको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहन बुढथापाले जानकारी दिए। उनको शव कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा राखिएको थियो। परिवारका अनुसार आजै भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिनेछ।
उनको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन मंगलबार जिल्ला अदालतले आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो।
इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्। उनी वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि यौनाङ्गमा गम्भीर भित्री चोट लागेका कारण अत्यधिक रक्तस्राव हुँदा उनको मृत्यु भएको उल्लेख गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित