
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिकाहरू परीक्षण गर्ने कार्य आजैदेखि सुरु गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षा भएको दिनकै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जानकारी दिएका छन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको थियो, र सोही विषयका कपीहरू आजैदेखि जाँच सुरु गरिएको हो।
आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएको थियो। परीक्षा सम्पन्न भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ।
उनका अनुसार, जुन विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका हो, सोही विद्यालयका शिक्षकले जाँच गर्न पाउँदैनन्। शिक्षा विकास इकाइबाट खटिएका शिक्षकहरूको सूची केन्द्राध्यक्षलाई उपलब्ध गराइन्छ, र सोही सूचीअनुसार केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण कार्य अगाडि बढाइन्छ।
आफ्नो विद्यालयका शिक्षकलाई आफ्नै विद्यार्थीको कपी जाँच गर्न नदिई, अन्य विद्यालयका शिक्षकमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको उनले बताए।
यसैगरी, अन्य विषयका उत्तरपुस्तिकाहरू पनि क्रमशः परीक्षण गरिनेछन्। परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको अधिकारीले जानकारी दिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित