
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य लगातार बढाए पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा वृद्धि नगरे देशभरका यातायात सेवा ठप्प पार्ने चेतावनी दिएको हो। नेपाल आयल निगमले छोटो अवधिमै पटक–पटक डिजेल र पेट्रोलको मूल्य बढाउँदा पनि भाडा नबढाइएको भन्दै व्यवसायीले तत्काल समायोजन गर्न माग गरेका छन्।
महासंघले सरकारबाट निर्णय नआए देशभर यातायात सेवा बन्द गर्ने वा आफैँ भाडादर घोषणा गर्ने चेतावनी दिएको छ। हवाई इन्धनको मूल्य बढ्नासाथ हवाई भाडा समायोजन हुने तर सार्वजनिक यातायातमा बेवास्ता गरिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडा समायोजन विधिअनुसार निर्णय गर्न आग्रह गरिएको छ। यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा तराई र पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा वृद्धि सिफारिस भइसके पनि निर्णय हुन सकेको छैन।
२०७२ सालदेखि १३ वटा मुख्य सूचकका आधारमा भाडा समायोजन नभएको र दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपरेको महासंघको दाबी छ। पटक–पटकको आग्रहलाई बेवास्ता गरिएको भन्दै अब घाटा खाएर सेवा दिन नसकिने चेतावनी दिइएको छ।
सरकारले तत्काल निर्णय नगरे व्यवसायीले वैज्ञानिक विधिअनुसार स्वतःस्फूर्त रुपमा भाडा वृद्धि गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवार राज्य नै हुने महासंघले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित