धम्की दिएर पैसा असुल्ने आरोपमा युवराज गुरुङ पक्राउ

काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न भनिएका ‘सानुभाइ’ भन्ने  युवराज गुरुङलाई प्रहरीले गए राति दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनी रात्रिकालीन व्यवसायीहरूलाई धम्की दिई आर्थिक लाभ उठाउने कार्यमा संलग्न थिए। गुरुङ नेपाली कांग्रेसका अर्जुननरसिंह केसी समूह निकट मानिने गरेका छन्।

नुवाकोटको ककनी गाउँपालिका–५ निवासी २६ वर्षीय गुरुङ यसअघि पनि हुलहुज्जत लगायतका विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका छन्। उनी पछिल्लोपटक असोज २८ गते राति ठमेलबाट पक्राउ परेका थिए। सो समयमा क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेको आरोप लागेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सार्वजनिक शान्ति खलल गरेको अभियोगमा उनलाई म्याद थप गरी हिरासतमा राखिनेछ।

प्रतिक्रिया

ताजा समाचार