
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौं बाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपालबाहिर रहेकाले पक्राउ गर्न सकिएको छैन।
देउवा दम्पती हाल विदेशमा रहेका छन्। २१ फागुनमा भएको निर्वाचनअघि स्वास्थ्य उपचारका लागि उनीहरू सिंगापुर गएका थिए। त्यसपछि उनीहरू हङकङतर्फ गएको समाचारसमेत सार्वजनिक भएको थियो।
यसअघि जेन–जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। बुढानीलकण्ठस्थित उनीहरूको निवासमा आगजनी हुँदा जलेका नगद भेटिएको विषय सार्वजनिक भएको थियो। सो घटनापछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्कासमेत उठाएको थियो।
हाल उक्त प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अघि बढाइरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित