
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतार–चढाव तथा अन्य सूचकहरूको आधारमा नयाँ भाडादर निर्धारण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारीसाधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यसैगरी, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।
विभाग स्रोतका अनुसार इन्धनको मूल्यमा आएको परिवर्तनलाई भाडा समायोजनको प्रमुख आधार मानिएको छ। यस निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा तथा सामान ढुवानी गर्दा नयाँ दरअनुसार शुल्क तिर्नुपर्नेछ।
यातायात व्यवस्था विभाग ले भाडा समायोजनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा पठाएको थियो। सो प्रस्तावलाई मन्त्री सुनील लम्साल ले स्वीकृति दिएका छन्।
अब विभागले औपचारिक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गर्नेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित