
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो। “काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन,” उहाँले भन्नुभयो, “सम्झौताअनुसार काम नभए र गुणस्तरमा सम्झौता गरिए त्यस्ता कम्पनीलाई तत्काल ब्ल्याकलिस्टमा राखिनेछ।”
गृहमन्त्री गुरुङले आयोजनाअन्तर्गत नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको प्रगतिबारे विस्तृत जानकारी लिनुभएको थियो। सो अवसरमा उहाँले निर्धारित समयमै उच्च गुणस्तरसहित काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो।
आयोजनाले पेश गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभाव मुख्य समस्याका रूपमा औंल्याइएको छ। विशेषगरी नदीजन्य तथा खानीजन्य सामग्री उत्खननमा देखिएका कानुनी र प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भएको उल्लेख छ। स्थानीय तहबाट नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा) उत्खननमा अवरोध भइरहेको पनि जनाइएको छ।
त्यसैगरी, विगतमा क्रसर उद्योग बन्द हुँदा सामग्री आपूर्तिमा परेको असर, विभिन्न स्थानीय तहबीच दोहोरो कर प्रणाली, राजस्व दरमा असमानता, ढुवानीका क्रममा हुने प्रशासनिक झन्झट तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा ढिलाइले समस्या थपिएको उल्लेख छ।
आयोजनाले बेल्खु बगर, घाटबेसी बगर र मलेखु–लाम बगरलगायत स्थानबाट आवश्यक निर्माण सामग्री उपलब्ध गराइदिन र ढुवानीमा सहजीकरण गर्न सरकारसँग माग गरेको छ।
गृहमन्त्री गुरुङले यी समस्याहरू समाधानका लागि अन्तर–मन्त्रालय समन्वयमार्फत आवश्यक सहजीकरण गर्ने आश्वासन दिनुभयो। साथै, विकास निर्माणमा हुने राजनीतिक हस्तक्षेप र प्रशासनिक अवरोध हटाउँदै कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित