विवादित स्टाटसपछि करण केसी कारबाहीमा, एक खेल निलम्बन

काठमाडौं । विवादास्पद सामाजिक सञ्जाल स्टाटसका कारण क्रिकेटर करण केसी कारबाहीमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई एक खेल प्रतिबन्ध लगाउनुका साथै उक्त खेलको शतप्रतिशत म्याच फी काट्ने निर्णय गरेको छ।

प्रतिबन्धका कारण केसीले आजको खेल गुमाएका छन्। नेपाल पुलिस क्लबबाट खेल्दै आएका उनी आज पुलिस र मधेसबीचको खेलमा सहभागी हुन पाएनन्। सो खेलको म्याच फी पनि उनलाई प्रदान गरिएको छैन।

क्यानका अनुसार केसीको अभिव्यक्ति खेल भावना विपरीत रहेको ठहर गरिएको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताअन्तर्गत एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत म्याच फी जरिवाना गर्ने निर्णय गरिएको उल्लेख छ।

केसीले हिजो फेसबुकमा अम्पायरप्रति लक्षित गर्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए। उनले ‘कुनै खेलाडीले अम्पायरलाई गल्तीवश पिटेमा कति खेल प्रतिबन्ध हुन्छ?’ भन्ने प्रश्न उठाएका थिए। उक्त स्टाटस सार्वजनिक भएपछि क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसी आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो।

पछि केसीले उक्त स्टाटस हटाएर क्षमायाचना गरेका छन्। तर, अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकले क्षमायाचनाले मात्र पर्याप्त नहुने बताएका छन्।

उनले भने, ‘यो गम्भीर विषय हो, क्षमायाचनाले मात्र पुग्दैन। क्यानले आवश्यक कारबाही गर्छ भन्ने विश्वास छ।’

क्यानका प्रवक्ता छुम्बी लामाले पछिल्लो समय खेलाडी र अम्पायरबीच देखिएको असमझदारीप्रति संघ गम्भीर रहेको बताए। उनले भने, ‘आईसीसीको खेलाडी आचारसंहिता, क्यानसँगको सम्झौता तथा प्रधानमन्त्री कपको निर्देशिकाअनुसार म्याच रेफ्रीको प्रतिवेदनका आधारमा प्राविधिक समितिसँग छलफल गरी निर्णय लिइएको हो।’

प्रतिक्रिया

ताजा समाचार