हुलाकबाट घरमै सेवा: राहदानी र लाइसेन्स अब दैलोमै पुग्ने

सुर्खेत । सरकारी सेवा सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित अब राहदानी र सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरमै पुर्‍याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत ले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पठाउने योजना अघि बढाएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार राहदानी घरमै पुर्‍याउने सेवा सञ्चालनका लागि हुलाक निर्देशनालय सँग समन्वय भइरहेको छ । सेवा प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल जारी रहेको छ ।

प्रशासनले केही दिनभित्रै सेवा सुरु गर्ने लक्ष्य राखेको छ । हुलाकमार्फत राहदानी घर–घरमै पुर्‍याउने व्यवस्था लागू गर्न आवश्यक तयारी भइरहेको जनाइएको छ ।

नेपाल सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई घरमै सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो । यसै सन्दर्भमा जिल्ला हुलाक कार्यालयहरूसँग समन्वय गरी सेवा विस्तार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

यस योजनाअनुसार प्रत्येक पालिकामा रहेका इलाका हुलाक कार्यालयमार्फत सेवा सञ्चालन गरिनेछ । जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रशासन कार्यालय जुम्ला ले पनि सेवा प्रभावकारी बनाउन आवश्यक छलफल सुरु गरिसकेका छन् ।

सेवा सुरु भएपछि राहदानी वा लाइसेन्स लिन सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसले समय, खर्च र झन्झट घटाउँदै राज्यको सेवा नागरिकको दैलोसम्म पुग्ने विश्वास लिइएको छ ।

सरकारले आगामी १०० दिनभित्र राहदानी, नागरिकताको प्रतिलिपि तथा सवारी चालक अनुमति पत्रजस्ता अत्यावश्यक कागजात घरमै पुर्‍याउने लक्ष्य लिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत यो योजना समावेश गरिएको हो ।

कार्यक्रम अनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गरिनेछ । सोही माध्यमबाट नागरिकता, राहदानी, लाइसेन्स लगायतका कागजात नागरिकको घरमै पुर्‍याइने व्यवस्था मिलाइनेछ ।

यससँगै सेवा प्रवाहलाई छिटो, सरल र बिचौलियामुक्त बनाउन डिजिटल तथा एकीकृत प्रणालीमार्फत काम सञ्चालन गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

प्रतिक्रिया

ताजा समाचार