
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन्। पुरातत्व विभागले सञ्चालन गरेको उत्खननका क्रममा मन्दिरसँग सम्बन्धित महत्वपूर्ण संरचनात्मक अवशेषहरू भेटिएका हुन्।
वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उत्खनन गरिरहेको उक्त क्षेत्रमा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न देवदेवीका मूर्ति, शिखर (गजुर) का अंश, ढुङ्गेधारा तथा सिंह र बसाहा आकृतिका पत्थरका अवयवहरू फेला परेका छन्। पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार भेटिएका संरचनाहरू मध्ययुगीन शिव मन्दिरसँग मिल्दोजुल्दो देखिएका छन्।
“शिखर शैलीका जग र ढुङ्गा भेटिएकाले यो क्षेत्र मन्दिर परिसर हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौँ,” भुसालले बताए। पिपलबोट क्षेत्र आसपास पनि उत्खनन जारी रहेको र थप अध्ययनपछि मात्र महल वा मन्दिर भन्ने विषय स्पष्ट हुने उनले जानकारी दिए।
उत्खननबाट प्राप्त महत्वपूर्ण मूर्तिहरू संरक्षणका लागि काठमाडौंस्थित छाउनी संग्रहालय लैजाने तयारी भइरहेको विभागले जनाएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा समेत क्षेत्रको ऐतिहासिक महत्व प्रचार हुने विश्वास गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले भने पर्याप्त बजेट अभावले उत्खनन कार्य प्रभावित भएको बताएका छन्। वडा अध्यक्ष गोकर्णसिंह धामीका अनुसार छोटो अवधिको उत्खननले पूर्ण पुनर्निर्माण सम्भव नहुने भएकाले दीर्घकालीन योजना आवश्यक छ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उकु क्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त रहेको बताए। “संरक्षण र विकासमा लगानी बढाउन सके यस क्षेत्रको ऐतिहासिक पहिचान अझ उजागर हुनेछ,” उनले भने।
गाउँपालिका अध्यक्ष हिरासिंह धामीले क्षेत्रलाई भविष्यमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। पुनर्निर्माणपछि विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने दीर्घकालीन योजना समेत अघि बढाइएको उनले बताए।
ऐतिहासिक पृष्ठभूमि
इतिहासकारहरूका अनुसार उकु क्षेत्र मध्यकालीन कत्युरी राजाहरूको राजधानीका रूपमा परिचित थियो। पछि पाल राजाहरूले पनि यहाँ शासन सञ्चालन गरेका थिए। विभिन्न शिलालेख, दरबारका भग्नावशेष, देवस्थल र मूर्तिहरूले यसको समृद्ध ऐतिहासिकता पुष्टि गर्छन्।
उकुको ऐतिहासिक सम्बन्ध भारतको अस्कोट क्षेत्रसँग समेत जोडिएको पाइन्छ। विभिन्न अभिलेखअनुसार निरै पालजस्ता शक्तिशाली राजाहरूले यहाँ शासन गरेका थिए। साथै नाग मल्लको शासनकालमा पनि मन्दिर निर्माण भएको अनुमान गरिएको छ।
हाल उत्खनन र अनुसन्धान कार्य जारी रहेकाले उकु महल र त्यस क्षेत्रको वास्तविक ऐतिहासिक स्वरूपबारे थप तथ्य समयक्रममा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित