
काठमाडौं — नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकता कायम गर्न संस्थापन पक्ष नै जिम्मेवार हुनुपर्ने स्पष्ट सन्देश दिएको छ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा धुम्बारीस्थित एक पार्टी प्यालेसमा बसेको भेलामा नेताहरूले चुनावी हारको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। नेता कुन्दनराज काफ्लेले जनतामा किन असन्तुष्टि बढ्यो भन्ने मूल प्रश्नलाई बेवास्ता गर्न नहुने बताए।
“जनता किन कांग्रेससँग रिसाए ? किन पहिलो दलबाट सानो दलमा खुम्चिनुपर्यो ? यही एजेन्डामा गम्भीर बहस हुनुपर्छ,” काफ्लेले भने।
सर्वोच्च अदालत ले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि कांग्रेसभित्र ध्रुवीकरण तीव्र बनेको छ। सोही निर्णयपछि देउवा पक्षीय नेताहरू छुट्टै छलफलमा जुटेका हुन्।
देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षले जिम्मेवारी लिनुपर्ने कडा अडान राखेको छ।
“नमिल्ने भन्ने कुरा होइन, तर सानेपाले जिम्मेवार भूमिका खेल्नुपर्छ। यो स्वाभिमानको प्रश्न हो,” काफ्लेले भने।
पार्टीभित्र नेतृत्व विवाद, चुनावी पराजय र संगठनात्मक कमजोरीबारे असन्तुष्टि बढ्दै जाँदा कांग्रेसमा शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ। नेताहरूले आन्तरिक समस्या समाधान नगरे आगामी दिनमा पार्टी झन् कमजोर बन्ने चेतावनी दिएका छन्।
देउवा पक्षको यो कडा सन्देशले कांग्रेसभित्रको सत्ता संघर्ष अझ चर्किने संकेत देखिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित