
काठमाडौं । सरकारले कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य लागू गर्न निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै सरकारी निकायका कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरण विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो।
मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।
यदि उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयन नभएको अवस्थामा पनि कर्मचारीको दैनिक उपस्थितिको विवरण (आएको र गएको समय) अनिवार्य रूपमा विद्युतीय माध्यमबाटै अभिलेख गर्ने व्यवस्था मिलाउन भनिएको छ।
साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित