
काठमाडौं । सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बिहीबार साँझदेखि बस्ती खाली गर्न सार्वजनिक सूचना प्रसारण गरिएको हो।
यसअघि गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
उक्त निर्देशनअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका थिए। बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो।
बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका चार वटा सुकुमवासी बस्तीमा प्रहरीले माइकिङ गरिरहेको छ।
प्रशासनका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बस्ती खाली गर्न समय दिइएको छ। उक्त समयभित्र खाली नभए शनिबार (वैशाख १२) देखि अतिक्रमित संरचनामा डोजर चलाइने जनाइएको छ।
पहिलो चरणमा काठमाडौं उपत्यकाका चार वटा सुकुमवासी बस्तीमा डोजर चलाइने तयारी गरिएको प्रशासनले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित