
काठमाडौं । सरकारले आजबाट थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ। बिहानैदेखि थापाथली सुकुम्वासी बस्तीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बस्ती हटाउन काठमाडौं महानगरपालिकाको डोजरसहित सुरक्षाकर्मीको टोली पहिलो चरणमा थापाथली पुग्ने र त्यसपछि सिनामंगलतर्फ जाने जनाइएको छ। यसपछि मनोहरा र गैरिगाउँका अनधिकृत बस्ती हटाउने तयारी गरिएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार दोस्रो चरणमा बाँकी रहेका सुकुम्वासी बस्तीहरू पनि हटाइनेछ।
सरकारले सुरु गर्न लागेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई सहयोग गर्न नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिक स्थानमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार वास्तविक सुकुम्वासी र भूमिहीनको पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित