
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो।
नेपालको जितमा करण केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक चार विकेट लिए। उनले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिएका हुन्।
यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिए भने सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए। दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यूएईका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्मा र निलान्स केसवानीले समान १८–१८ रन जोडे।
यसअघि ब्याटिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए। उनले ९० बलमा ५ चौका र २ छक्कासहित उक्त स्कोर बनाएका हुन्।
नेपालको सुरुआत भने कमजोर रह्यो। आसिफ शेख ७ रनमै आउट भए भने कप्तान रोहित पौडेल २ रनमै पभेलियन फर्किए। कुशल भुर्तेलले २४, बसिर अहमदले २० तथा करण केसीले २२ रन जोडे।
अन्य खेलाडीमध्ये भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाए।
बलिङतर्फ यूएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन–तीन विकेट लिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित