
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीहरूको सुरक्षा, सहजीकरण र व्यवस्थापनका लागि ६ बुँदे सर्कुलर जारी गरेका छन्।
मन्त्रीको निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीहरूमा पर्ने असर न्यूनीकरण गर्न विशेष पहल थालेको छ। यस अन्तर्गत परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयहरूको समायोजन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न विभिन्न निर्देशन तथा अनुरोध जारी गरिएको छ।
केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सबै स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ। विशेषगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई सहज रूपमा परीक्षा केन्द्रसम्म पुग्ने व्यवस्था मिलाउन र विद्यालय नै प्रभावित भएको अवस्थामा वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिएको छ।
यसैगरी, सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भएमा सम्बन्धित निकायमार्फत केन्द्रमा पठाउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई आग्रह गरेको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित