
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्। वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही मितिमा अवकाशमा जाँदैछन्।
पौडेल आईजीपी पदका प्रमुख दाबेदार थिए। उनी १८ चैत २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका थिए र सशस्त्र प्रहरी बल गठन भएपछि त्यहाँ स्थानान्तरण भएका हुन्।
आईजीपी पदका लागि एआईजी वंशी दाहाल र एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए। तर दुवै जना पौडेलभन्दा सेवामा जुनियर भएकाले पौडेल नै अघि परेका हुन्।
पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए। दोस्रो दाबेदार दाहाल भने करिब पाँच महिनापछि, २८ असोज २०७९ मा एआईजी बनेका थिए। ठाडा मगर भने २ असार २०८२ मा मात्र एआईजीमा बढुवा भएका हुन्।
नयाँ आईजीपी पौडेलले १८ चैत २०८४ सम्म सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन्। विद्यमान नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि सोही मितिमा उनी अवकाशमा जानेछन्।
सेवा अवधिमा पौडेलले २०५८ मा डीएसपी, २०६३ मा एसपी, २०७० मा एसएसपी, २०७५ मा डीआईजी र २०७९ मा एआईजी पदमा बढुवा पाएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित