
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि देशका विभिन्न प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार १६ वैशाख साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु भई १७ वैशाख बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, मधेश प्रदेशका धनुषा, बारा र कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आह्वान गरेको छ। प्राधिकरणले सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न र कमजोर संरचनालाई सुरक्षित बनाउन सुझाव दिएको छ।
त्यस्तै, घरबाहिर आगो नबाल्न, अग्ला रुख, खम्बा तथा बिजुलीका तार नजिक नबस्न र लत्रिएका तार नछुन पनि आग्रह गरिएको छ।
विभागले मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने प्रणालीको प्रभाव पनि देशका धेरै स्थानमा रहने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित