विपद् जोखिम व्यवस्थापनका लागि सुकुम्बासी विवरण मागिएको नेपाली सेनाको स्पष्टोक्ति

काठमाडौं । नेपाली सेना ले आगामी वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानजस्ता विपद् जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तीव्र पारेको जनाएको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा विगतका वर्षहरूमा देखिएका विपद्का घटनाबाट सिक्दै यसपटक पनि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा तयारी अघि बढाइएको उल्लेख गरिएको छ।

सेनाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सम्भावित जोखिम क्षेत्रको पहिचान तथा जोखिम नक्साङ्कन (ह्याजार्ड म्यापिङ) कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। यसका लागि स्थानीय युनिटहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा तथ्याङ्क अद्यावधिक गर्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको भन्ने आशयका समाचारप्रति सेनाले आपत्ति जनाएको छ।

सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्ना गतिविधि कुनै पनि व्यक्तिको विवरण संकलनका लागि नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रको पहिचान तथा पूर्वतयारीका लागि मात्र केन्द्रित रहेको स्पष्ट पारेको छ।

सेनाले विपद् प्रभावित अवस्थामा सुरक्षा फौज तैनाथ गरी तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यलाई सहज बनाउन पूर्वतयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ।

सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्ने कार्यमा नेपाली सेना प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार