
काठमाडौं । सुकुम्वासी व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणका होस्टल भवनहरू प्रयोग गरिने भएका छन्।
प्राधिकरणले आज सूचना जारी गर्दै होस्टलहरू सरकारलाई उपलब्ध गराइने जनाएको छ। यसका कारण प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका अधिकांश तालिम कार्यक्रमहरू स्थगित गरिएको छ।
प्राधिकरणको तालिम व्यवस्थापन विभागका अनुसार सरकारको अनुरोध तथा कार्यकारी निर्देशकको निर्देशनबमोजिम होस्टल भवनहरू अस्थायी रूपमा उपलब्ध गराउने निर्णय गरिएको हो।
यससँगै हाल सञ्चालनमा रहेका सबै तालिम (फोरमेन तालिम बाहेक) २०८३ वैशाख २० गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। साथै, २०८३ वैशाख २४ गतेदेखि सञ्चालन हुने तय गरिएको तह–चार फोरमेन पदसम्बन्धी तालिम पनि अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाइएको छ।
तालिम व्यवस्थापन विभागले तालिम स्थगनका कारण प्रशिक्षार्थीहरूमा पर्न गएको असहजताप्रति क्षमायाचना गर्दै आवश्यक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
साथै, हाल होस्टल प्रयोग गरिरहेका प्रशिक्षार्थीहरूलाई २०८३ वैशाख १९ गते अपराह्न ४ बजेसम्म कोठा खाली गर्न निर्देशन दिइएको छ।
सरकारले सुकुम्वासी व्यवस्थापनका लागि अस्थायी आवासको रूपमा विभिन्न संरचनाहरू प्रयोग गर्ने नीतिअनुसार प्राधिकरणका होस्टलहरू प्रयोगमा ल्याउन लागेको जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित